नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज


काठमाडौँ – नेपाल टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको छ । यी अफरहरू असार १ गते देखि लागु हुने छन् ।

अब सजिलो अन लिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अन लिमिटेड अन-नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अन लिमिटेड अन-नेट भ्वाइस, १५० मिनेट अफ-नेट भ्वाइस तथा १०० अन-नेट एसएमएसका साथै ९ जीवी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अन लिमिटेड अल-नेट भ्वाइस, ३० जीवी डाटा र १५० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अन लिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जीवी डाटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।

कम्पनीले सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँ मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरूमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरू र एक्सजीपीओन प्याकेजहरूमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया