जसपा विभाजनविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा नेपाल विभाजन सम्बन्धी विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दर्ता गराएको रिट पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।

शुक्रबारदेखि न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा सुनुवाइ हुँदै आएको थियो । दुई दिनको बहस सुनेपछि सर्वोच्चले तीन न्यायाधीशको पूर्ण इजलासमा पठाएको हो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।

तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया