पूर्व सभामुख सापकोटाविरुद्ध मुद्दाको फैसला असार १२ मा


काठमाडौं – पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको आउँदो असार १२ गते फैसला हुने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो । पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

काभ्रेका लामाको हत्याको विषयमा पूर्व सभामुख समेत रहेका सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १२ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको सहायक प्रवक्ता गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।

संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखेको थियो । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सापकोटासँग सम्बन्धित तीनवटा रिटमा आदेश सुनाउने मिति तोकेको हो ।

 

प्रतिक्रिया