नेतृत्वबिहीन छ गोदावरी नगरपालिका


ललितपुर-  ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि ३ दिनयता ललितपुरको गोदावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ ।

२१ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत ५ वर्षमा ढुंगागिटी उत्खननकाे ठेक्कामा प्रदेश सरकारले तोकेको भन्दा कम दररेटमा ठेक्का लगाएर राजश्व हिनामिना गरेको भन्दै मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन ४ जना प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजश्व शाखाका प्रमुख र ५ जना ठेकेदारविरूद्ध मुद्दा दायर गरिसकेको छ ।

मुद्दा दर्ता भएलगत्तै मेयर र उपमेयर स्वतः निलम्बनमा परेका छन् । उनीहरु निलम्बनमा परेपनि कार्यवाहक मेयर कसलाई दिने भन्ने विषयमा नगरका जनप्रतिनिधिहरुको बैठक समेत बसेको छैन ।

मेयर र उपमेयर पनि नभएको अवस्थामा कसलाई बार्यवाहक दिने भन्ने विषयमा नगरपालिकाले कुनै कार्यविधि र कानुन बनाएको छैन । यो कानुन नबनाएका कारण कार्यवाहक कसलाई दिने भन्ने अन्योल छ ।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कानुन र कार्यविधि नबनाएको अवस्थामा सम्वन्धित प्रदेशको कानुनअनुसार हुने र सो पनि नभए कार्यपालिका बैठकबाट कार्यवाहक सम्वन्धि निर्णय गर्न सकिनेछ ।

 

प्रतिक्रिया