कामपाले भत्काएको सडक दुई दिनभित्र बनाउन बालेनलाई ‘अल्टिमेटम’


काठमाडौँ – सडक डिभिजन कार्यालय काठमाडौँले न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक दुई दिनभित्र पूर्ववत अवस्थामा फर्काउन ‘अल्टिमेटम’ दिएको छ ।

संघीय सरकार अन्तर्गत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाउँदै आएको छ ।

आफ्नो मातहतको सडक घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालयले अनुमति नदिएपछि दुई निकायबीच टकराव उत्पन्न भएको छ ।

काठमाडौँ डिभिजन प्रमुख नारायणदक्त भण्डारीले बुधबार महानगरलाई पत्र लेख्दै भत्काएको सडक बनाउन अन्यथा सार्वजनिक सडक ऐन, २०३१ दफा १९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । उक्त दफामा जसले सडक भत्काएको हो उसले बनाउनु पर्ने डिभिजनले बनाउनु पर्दा लागेको रकम बिगार्ने निकायबाट भराउने व्यवस्था छ ।

भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१-२-१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन । नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ । तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ ।’

प्रतिक्रिया