

बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा

काठमाडौँ – २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ ।
कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो । श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो ।
गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए ।
लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो । बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।

