सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय : माधव नेपाल


काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् ।

‘अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर म अचम्मित भएको छु । र दुःख पनि लागेको छ, ‘बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसित कुरा गर्दै नेपालले भने, ‘यो कस्तो देश भयो ? स्वच्छ मिडिया राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो कि ?’

अध्यक्ष नेपालले कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो भनेर सबैलाई थाहा भएको बताए । ‘सबैलाई थाहा छ कि कैलाश सिरोहिया जनकपुरकबासी हो । सारा परिवारको बसोबास यही छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो, ‘उनले भने, ‘एउटै नम्बरको दुईवटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेको होइन, प्रशासनको हो ।’

उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था समेत नभएको बताए ।

प्रतिक्रिया