सन्दीपलाई विश्वकपमा पठाउन क्यानले भिसा प्रक्रिया अगाडि बढायो


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भइरहेको उल्लेख गरे ।

यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनी विश्वकपको तयारीमा जुटेका थिए।

गत बुधबार (जेठ २) सन्दीपलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो । सन्दीपलाई टोलीमा सामेल गरेको अवस्थामा कुन खेलाडीलाई बाहिर राख्ने भन्ने जिम्मा भने क्यानले मुख्य प्रशिक्षक र कप्तानलाई दिएको छ ।

प्रतिक्रिया