

ओली र जसपा नेताहरूबीच छलफल जारी, यस्तो छ सकारात्मक संकेत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री ओलीसँग छलफलका लागि जसपा नेताहरु बिहीबार साँझ बालुवाटार पुगेका हुन्। अहिले छलफल जारी रहेको जसपाका एक नेताले बताए।
छलफलमा लागि जसपा अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी छन्। आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।
यसअघिका छलफलमा अध्यक्ष ठाकुर र नेता महतोमात्रै सहभागी हुने गरेको भए पनि बिहीबारको बैठकपछि पाँच शीर्ष नेता सहभागी भएका हुन्। सोही अनरुज पनि ओलीसँगको छलफल सकारात्मक हुने संकेत देखिएको छ ।
मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

