‘कलाकारको कमब्याक हुँदैन’
नेमिष गौतम
काठमाडौं – कमब्याक अर्थात पुनरागमन, विशेषत रंग पत्रकारितामा यो शब्दको बढी नै प्रयोग हुन्छ । आफ्नो विधामा सक्रिय कलाकार केही समय गुमनाम भएपछि पुनः सोही क्षेत्रमा आउँदा सञ्चारकर्मी र पत्रकारले समाचारमा ‘कमव्याक’ वा ‘पुनरागमन’ शब्दको प्रयोग गर्छन् । मिडियामा प्रयोग हुने यो शब्द प्रति सम्बन्धित स्रष्टा सकारात्मक छैनन् । लामो समय कलाकारितामा सक्रिय कलाकारहरु केही कारण विशेषले कार्यरत क्षेत्रबाट टाढिएर पुनः फर्किदा ‘कमव्याक’ वा ‘पुनरागमन’को प्रयोग हुनुमा उनीहरुको असन्तुष्टि प्रष्ट बुझ्न सकिन्छ ।
एक समय नेपाली फिल्ममा व्यस्त अभिनेता विराज भट्ट बीचको केही वर्ष भोजपुरी फिल्ममा सक्रिय रहे । उनी झन्डै ६ वर्षपछि फिल्म ‘जय पर्शुराम’मा देखिए । यो फिल्मपछि उनी आफैंले फिल्म ‘साङ्लो’को निर्माण र निर्देशन गरे । फिल्म ‘जय पर्शुराम’मा देखिँदा उनलाई मिडियाले ‘कमव्याक’ लेखे । तर विराज स्वयं भने ‘कमव्याक’ शब्दमा सन्तुष्ट छैनन् । ‘मलाई कमव्याक भन्ने चिज नै मनपर्दैन । किनभने त्यो प्रयोग हुने शब्द नै होइन । हामी दर्शकले र राष्ट्रले नै माया गरेको कलाकार हौं’, विराज भन्छन्, ‘राष्ट्रका हरेक निकायमा जाँदा हामीलाई एउटा अलग प्रकारको सम्मान छ, माया छ । चाहे त्यो सरकारी निकाय, आर्मीको ब्यारेकमा निस्कँदा खेरी या पुलिस प्रशासनका कुराहरु हुन् । सानो–सानो ठाउँमा पनि कलाकारलाई एउटा सम्मान दिने ठाउँ छ । त्यसकारण त्यो लेबलमा माया पाइसकेको मान्छेहरु हामी फिल्ममा थोरै ग्याप होला, यताको मान्छे उता जाला, उताबाट यता आउला । त्यसलाई चाहिँ कमब्याक शब्द प्रयोग गर्नु के उचित हो र ?’
विराज आफूहरुको प्रयास एउटा राम्रो फिल्म दिने भएकाले केही अन्तरालमा फिल्ममा आउँदा ‘कमब्याक’ वा ‘पुनरागमन’ भन्न नमिल्ने बताउँछन् । ‘हामीले फिल्म उद्योगमा जुन लोकप्रियता पाएका छौं । त्यसलाई कसरी जोगाउने र राम्रो फिल्ममा काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि हामीले कति मेहनत गर्न सक्छौं । दर्शकलाई कसरी खुशी पार्न सकिन्छ भन्ने हो । त्यसमा केही ढिलो चाँडो त अवश्य नै हुन्छ’, उनी भन्छन् ।
एकसमय ‘चकलेटी हिरो’ को उपमा पाएका अभिनेता रमेश उप्रेतीले २०५४ सालमा फिल्म ‘पराईघर’बाट अभिनयमा डेब्यू गरे । त्यसयता एकपछि अर्को फिल्ममा व्यस्त भइरहँदा उनी अमेरिका उडे । झन्डै ९ वर्ष अमेरिका बसेपछि नेपाल फर्किएर उनले ‘ब्रासलेट’मा अभिनय गरे । ‘पहिलो कुरा कलाकारको कमव्याक वा पुनरागमन हुँदैन । व्यस्त जीवनबाट मानिसले केही समय विश्राम लिन्छ । हलिउड र बलिउडमा पनि कलाकारले विश्राम लिएका छन् । अमिताभ बच्चन, आमिर खानलगायतका कलाकार पनि केही समयको ग्याप पछि फिल्ममा देखिए । आमिर खानले सन् २००१ मा ‘लगान’ बनाएपछि २००४ को अन्त्यतिर ‘मंगल पाण्डे’ फिल्म गर्नुभयो । उहाँलाई कसैले कमब्याक भनेन’, रमेश भन्छन्, ‘कलाकारहरुमा के लागु हुन्छ भने जुन मान्छेको हजारौंमाझ एउटा छवि बनिसकेको छ । जसले दर्शकबाट धेरै माया पाइसकेको छ । ती कलाकारमा कमव्याक वा पुनरागमन भन्ने हुँदैन । कलाकार कहिले रिटायर्ड पनि हुँदैन र डेट एक्सपायर पनि हुँदैन । किनभने त्यो त कला देखाउने हो । विभिन्न कालखण्डमा उमेर अनुसार चरित्रमा ढाल्ने हो । मलाई लाग्छ प्रेमकथाका फिल्महरु कोरिया र नेपालमा मात्र अहिले बनिरहेका होलान् । अन्य मुलुकले त व्यक्ति लक्षित फिल्म बनाइरहेका छन् । त्यसकारण यो कमव्याक वा पुनरागमनमा मेरो सहमत छैन ।’
रमेशले अमेरिका उड्नु अघि फिल्म ‘आफ्नोपन’मा अभिनय गरे । ‘मैले एकै दिन दुईवटा फिल्ममा काम गर्नुपथ्र्यो । जसले गर्दा मलाई समस्या भयो । फिल्मको सुटिङ तालिका नै जुध्ने देखियो । निर्माताले भनेको नमान्दिने गर्दा मलाई प्रेसर भयो । त्यसपछि मार्केट ड्रप भयो । पहिला जस्तो बजार भएन । त्यसपछि मैले एकदुई वर्ष काम नगर्ने भनेर अमेरिका गएँ’, रमेश भन्छन् ।
अभिनेत्री करिश्मा मानन्धरको बुझाई विराज र रमेशको भन्दा केही फरक छ । ‘कलाकारको ग्याप हुन्छ, फिल्ममा काम गर्नु भनेको ९ देखि ५ बजेसम्म जागिर खाए जस्तो होइन । त्यसकारण एउटा प्रोजेक्टबाट अर्को प्रोजेक्ट आउदा कहिले लगातार हुन्छ, कहिले हुँदै हुँदैन । किनभने यहाँ चलिरहेको कलाकारलाई लिइन्छ, नचलेकोलाई लिँइदैन’, करिश्मा भन्छिन्, ‘कतिपय अवस्थामा कलाकारले चाहेरै पनि काम गरिरहेको हुन्छन् भने कतिपयमा चाहिँ केही समय फिल्ममा काम नगर्ने भन्ने चाहनाले पनि हुन्छ । मेरो बुझाईमा लामो समयपछि फिल्ममा देखिएकाले मिडियाले कमव्याक भन्ने शब्द प्रयोग गरेको होला । यो बुझाई हो भने ठिकै हो । कलाकारको कुरा गर्दा चाहेर वा नचाहेर ब्रेक गरेको हुँदेन । फिल्ममा मेरो लामो ग्याप भयो । अब फिल्मबाट अफर आयो र अभिनयमा आएँ भन्ने त्यसलाई कमव्याक भन्ने कि किनकी मैले छोडेको त होइन नि ।’
करिश्मा मिडियाले ‘कमव्याक’ वा ‘पुनरागमन’ शब्द प्रयोग गर्नुमा आफूलाई कुनै समस्या नरहेको बताउछिन् । ‘किनभने मिडियाले लेख्दा आम दर्शकमाझ एउटा सूचना वा समाचार सम्प्रेषण हुन्छ । दर्शकलाई पनि फलानो कलाकार फेरि फिल्ममा आउदैरहेछ भन्ने सन्देश पुग्छ’, उनी भन्छिन् । करिश्मा पनि लामो समयको अमेरिका बसाईंपछि नेपाल फर्किएर फिल्ममा सक्रिय छिन् । उनले झन्डै १२ वर्ष पछि फिल्म ‘फागु’ निर्माण गरेकी थिइन् ।
एक्सन र स्टन्टमा खप्पिस अभिनेता निखिल उप्रेती मुम्बईको झन्डै पाँच वर्षे बसाईपछि नेपाल फर्किएर फिल्म ‘भैरव’मा अभिनय र निर्देशन गरे । निखिल आम मानिसले स्वीकारे पनि वा नस्वीकारे पनि आफूहरु फिल्म हल, दर्शक र फिल्म उद्योगबाट आउट भइसकेको दाबी गर्छन् । ‘हामीले अभिनय गरेका फिल्म फ्लप भएकै हो । फिल्म हलले पनि हामी फ्लप भएको कारण फिल्म नलिएकै हो’, उनी भन्छन्, ‘जीवनमा जोश भएको समय नेपाली फिल्म उद्योगमा बिताएको हो । त्यो समयमा ढुंगा खाए पनि पचाइन्थ्यो । त्यसैको बलबुतामा सात तलबाट हाम फाल्ने, हेलिकप्टरबाट हाम फाल्ने काम पनि गरियो । यी सबै कुरा सम्झिएर बस्नुको के औचित्य रह्यो र । फ्लप भइसकेपछि चुप लागेर बस्नु पनि एउटा कला हो नि । त्यो कलाको म फलोअर्स हो । त्यसकारण मिडियामा ‘कमब्याक’ वा ‘पुनरागमन’ शब्द प्रयोग भइरहँदा म खुशी पनि छैन, दुःखी पनि छैन । किनकी हामीले त्यस्ता धेरै शब्दबाट पार पाइसकेका छौं ।’
अभिनेता सरोज खनाल, राजाराम पौडेल लामो अन्तरालपछि फिल्म क्षेत्रमा सक्रिय छन् । अभिनेता शिव श्रेष्ठ, राजेश हमाल पनि केही समयको ग्यापपछि फिल्म ‘बागमती’मा एकसाथ देखिएका थिए ।