

खाली हात सरकारमा जादैनौं : जसपा

काठमाडौं – जनता समाजवादी पार्टीले आफ्ना मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।
सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको हो । साथै पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको छ ।
रेशम चौधरीको रिहाइ, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनीय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिए ।
उनले खाली हात सरकारमा जान नहुनेमा जोड दिए । सरकारमा सहभागिताबारे संसदीय दलको बैठकले पर्याप्त छलफल गरेर निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

