

स्कुटरमा लिफ्ट दिँदा यसरी फसे प्रहरी जवान

काठमाडाैं- फागुन २० गते बिहान ६ बजे । प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान सन्तोषराज पाध्याय स्कुटरमा गइरहेका थिए । सन्तोषले नागार्जुन नगरपालिका–५ का २४ वर्षीय चरण श्रेष्ठलाई लिफ्ट दिए ।
तर, धुम्बाराही पुगेपछि स्कुटर पल्टियो । त्यहीबेला बसले पछाडि सवार भएका चरणलाई ठक्कर दियो । ना ८ ख ७१९५ नम्बरको बसको चक्काले चरणलाई किचेको थियो । तर, चरणलाई अस्पताल लैजानु पर्नेमा सन्तोष आफू घरतिर गए ।
त्यसरी गैरजिम्मेवार बनेको भन्दै प्रहरीले उनीसहित बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर भएका दुवै जनाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (३) बमोजिमको कसूर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गरिएको थियो । साथै पीडित पक्षलाई क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ ।
दफा १६१ को उपदफा (३) को कसूर गर्नेलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

