
३६ प्रतिशत ब्याजमा ऋण लिएकी रीनालाई चोटै–चोट, शान्तिको जग्गामा अर्कैको तिनतले घर
काठमाडौं– हात भाँचिएर प्लास्टर लगाइएको छ । औंला सुन्निएका छन् । यो चोट उनले कब्जा गरिएको जग्गा फिर्ता माग्दा पाएकी हुन् । एक्सरे देखाउँदै रीना कुमारी पासवान (४५) भन्छिन्, ‘यो मैले आफ्नै जग्गा माग्दा साहुबाट खत हो । अहिलेसम्म ठिक भएको छैन ।’
रौतहटको फतुवापुर बिजयपुर नगरपालिका–७ बस्दै आएकी उनले १० वर्षअघि छठ्ठु सकलवारसँग १ लाख ३० हजार ऋण लिएकी थिइन् । आफ्नो भएको २ कठ्ठा ५ धुर जग्गा राजीनामा गरेर ३६ प्रतिशत ब्याजमा उनलाई छठ्ठुले ऋण दिएका थिए । श्रीमानलाई बिदेश पठाउन ऋण लिएकोमा एक दलालले उनको पैसा खाइदियो तर बिदेश पठाइदिएन ।
सामान्य मजदुरी गर्ने उनको परिवारलाई त्यो ऋण बोझ भयो । तर, ज्यालामजदुरी गरेर भएपछि उनले २ वर्षपछि ७० हजार साहुलाई फिर्ता गरिन् । तर साहुले जग्गा फिर्ता गर्न मानेन । उसले अब जग्गा आफैं कमाएर खाने भन्यो ।

‘त्यो जग्गाबाहेक मसँग अरु केही छैन । त्यसैमा साहुले उखु खेती गरेर कमाइरहेको थियो । पछि मैलै ब्याजसमेत गरेर अढाइ लाख तिरे’ उनी भन्छिन्, ‘त्यसपछि पनि साहुले जग्गा फिर्ता गर्न मानेन । म प्रहरीको शरणमा गए । प्रहरीले आग्रह गरेपछि साहुले जग्गा फिर्ता गर्न मान्यो तर त्यसमा लगाएका उखु आफैं काटेर लग्छु भन्यो । त्यहाँपछि हामीमाथि कुटपिट भएको हो ।’
लगाएको आधा उखु दिनुस् भनेपछि इलाका प्रहरी कार्यालय बिजयपुरमा साहुसहितसँग छलफल भएको उनले बताइन् । छलफलकै क्रममा प्रहरीले पनि साहुकै पक्षमा निर्णय गर्दै उखु उसैको भएको बतायो । तर, रीनाले मानिनन् । त्यसपछि रिसाएका साहुले खेतमा गएका रीना र उनकी छोरी सुखीकुमारीमाथि कुटपिट गर्न लगाएका थिए । उनले कुटपिट मात्रै गर्न लगाएनन् सुखीको साइकल र गहनासमेत लुट्न लगाएका थिए ।
गहना लुछ्दा कानमा लागेका खत देखाउँदै सुखी भन्छिन्, ‘प्रहरीले समेत हामीलाई सहयोग गरेन । घटनापछि आएर हामीलाई साहु छठ्ठुकै नातेदारको क्लिनिकमा लगिएको थियो, जहाँका चिकित्सकले आमाको चोटलाई सामान्य भन्दै रिपोर्ट बनाइदिएको थियो ।’ घटनापछि उनीहरु वीरगञ्ज अस्पताल गएका थिए । त्यहाँका चिकित्सकले रीनाको हात भाँचिएको बताउँदै प्लास्टर गरे । घटनापछि गाउँमा बस्दा बेलाबेला धम्की आइरहने उनले दुखेसो गरिन् ।
उनका अनुसार उक्त घटनाका बेला बुवा मदजुरी गर्न घरबाहिर गएका थिए । घटनापछि उनीहरुले मिटरब्याज पीडितहरुको विरुद्धमा संघर्षको कार्यक्रम भइरहेको जानकारी पाए । र, १४ दिन हिँडेर आमाछोरी न्याय माग्न काठमाडौं आए ।
शान्तिको जग्गामा अर्कैको ३ तले घर
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीकी शान्ति नेपालीका श्रीमानले १० वर्षअघि एक साहुबाट १ लाख ८० हजार ऋण लिएका थिए । खेम थापा नाम गरेका साहुबाट आफ्नो उपचारका लागि ऋण लिएको केही समयमै उनी रोजगारीका लागि भारत हानिए । त्यसपछि उनको अत्तोपत्तो छैन ।
एउटा भत्केको घरमा शान्ति आफ्ना बालबच्चा मजदुरी गरेर हुर्कारहेकी छिन् । तर, त्यो घर उनको हैन, साहु खेम थापाले दिएको हो । उनको आफ्नो घर त साहुले भत्काएर त्यहाँ ३ तले घर ठड्याएका छन् ।
यो अवस्थासम्म कसरी पुग्नुभयो त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘१ लाख ८० हजारको १ लाख २० हजार ब्याज तिरेसकेका थियौं । त्यो पनि ऋण लिएको १ वर्षपछि नै । तर बाँकी रकम तिर्न नसकेपछि साहुले जग्गा सट्टापट्टा गर्न भने ।’

त्यसपछि उनी साहुले दिएको भत्किएको घरमा बस्दै आएकी छिन् भने, उनको घर भत्काएर साहु (खेम थापा)ले त्यहाँ ३ तले घर निर्माण गरेका छन् । जग्गा सट्टापट्टा गर्नेबेला नै साहुले धोकेबाजी गर्दै ६३ लाखको कागजमा हस्ताक्षर गर्न लगाएको उनको आरोप छ । ‘अब मैलै बाँकी ऋण लिएको रकम फिर्ता गर्छु भन्दा ६३ लाख तिर अनि जग्गा फिर्ता गर्छु भन्छन् । मेरो रोडमा भएको १० धुरको जग्गामा कब्जा जमाएर विभिन्न डरधम्की दिइरहेको छ’ आँखाभरी आँसु बनाउँदै उनले भनिन्, ‘मेरो घर नभत्काउ भन्दाभन्दै एकपछि अर्को गरेर तिन तलासम्म ढलान गरियो ।’
शान्तिका अनुसार वडा कार्यालय तथा प्रहरीसामू आफ्ना पीडा पोख्दा पनि न्याय नपाएपछि उनी पनि हिँडेरै काठमाडौं आएकी थिइन् ।
यस्तै पीडा वीरेन्द्रनगर नगरपालिका–१ लेकबेसी बस्ने तुलसी सारु मगरको पनि छ । ४ वर्षअघि उनले आफ्नो दाईको जग्गा दृष्टिबन्धक राखेर गंगाबहादुर पुलामीबाट ऋण लिएकी थिइन् । ८ लाखको दृष्टिबन्धक बनाउँदा उनले ६ लाख पाएकी थिइन् । तर, ऋण लिएको रकम काम लागेन ।
श्रीमानको बिदेशमा कमाई भएन भने यता उनको व्यापार डुब्यो । कारण थियो कोरोना महामारी । २० हजार ब्याज बुझाएर बाँकी तिर्न नसकेपछि साहुले उनलाई आफ्नो जग्गा नामसारी गर्न भन्यो ।
‘उहाँ(साहु)ले भनिसकेपछि डेढ वर्षअघि मैलै मेरो नामको ४ कठ्ठा १८ धुरको जग्गा राजीनामा दिएको थिए । तर, तेरो नामको सम्पत्ति मलाई देउ भन्नेले आजसम्म दृष्टिबन्धक राखेको जग्गा फुकुवा गर्नुभएको छैन’ उनले भनिन् ।

उनका अनुसार आफूले जग्गा नामसारी गर्दा पनि अहिले साहुले आफैं र विभिन्न व्यक्तिमार्फत धम्की दिइरहेका छन् । कल रेकर्ड सुनाउँदै तुलसी भन्छिन्, ‘जग्गा दिइसके, पहिलेको जग्गा फुकवा गर्नुको सट्टा उल्टै ऋण नतिरे प्रहरी लगाएर थुन्न लगाउँछु भन्दै रुखो बोली बोल्ने गरेका छन् । यो त ममाथि भएको अन्याय हो ।’
यी तीन पीडित जस्तै पछिल्लो समय मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले काठमाडौंमा आन्दोलनका गर्दै आएका थिए । त्यसपछि फागुन २८ गते सोमबार मात्रै सरकारले मिटर ब्याज पीडितहरूसँग चारबुँदे सहमति गरेको छ ।
सहमतिको पहिलो बुँदामा मिटर ब्याजको समस्या दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै यसका लागि अध्ययन तथा जाँचबुझ गरी राय, सुझावसहित प्रतिवेदन पेस गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भनिएको छ । दोस्रो बुँदामा जाँचबुझ आयोगको कार्यादेशका बुँदा उल्लेख छन् । कार्यादेश सरकारसमक्ष प्रस्ताव गर्ने भनिएको छ ।
तेस्रो बुँदामा आर्थिक समस्याका कारण मिटर ब्याजी साहु महाजनको चंगुलमा पर्न नदिन शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता, राहत र क्षतिपूर्तिका लागि आगामी बजेटमा आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । यस्तै चौथो बुँदामा मिटर ब्याज पीडितहरूले आन्दोलन फिर्ता लिने घोषणा गरेको उल्लेख थियो ।



आशिष मल्ल |
