कोरोनाबाट विश्वभर ११२६ नेपालीको मृत्यु, १ लाख ९७ हजार बढी संक्रमित
काठमाडौं – विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यससँगै हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।
एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।
गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।
यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो । यससँगै हालसम्म विश्वभर १,९७९८५ नेपाली संक्रमित भएका छन् । ती मध्ये हालसम्म १ लाख ४७ हजार ५ सय १३ जना कोरोनामुक्त भइसकेका छन् । शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।