मन्त्री ज्वालालाई हटाउन राप्रपाकाे पनि माग


काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउन माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सांसद दीपक सिंहले छानबिन समितिले दोषी ठहर गरेका मन्त्री ज्वालालाई हटाउन माग गरेका हुन् । उनले भने,  ‘छानबिन समितिले दोषी ठहर गरेको छ । मन्त्री ज्वालालाई हटाउन राप्रपा माग गर्दछ ।’

यसअघि एमाले र रास्वपाले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २ युवाको मृत्यु भएको थियो ।

मन्त्री ज्वाला आन्दोलन भएको स्थानमा पुग्दा उनको गाडीमा आगजनी समेत भएको थियो । मन्त्रीको गाडीमा आगजनी भएकाले बल प्रयोग गर्नुपरेको दाबी प्रहरीले गरेको थियो ।

प्रतिक्रिया