एमाले दोलखाको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित


दोलखा – नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षका लागि प्यानलसहित त्रिपक्षीय प्रतिस्पर्धासहित भएको निर्वाचनमा ३३३ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल २३८ पाएर उपविजेता बनेका छन् भने अर्का प्रतिद्वन्द्वी भरत दुलालले ३८ मत पाए ।

निर्वाचन समिति संयोजक शङ्करलाल श्रेष्ठका अनुसार सहमतिको लामो प्रयास विफल भएपछि भएको निर्वाचनमा अध्यक्ष श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा सोयमबहादुर खड्का र उपसचिवमा कमला बस्नेत पनि विजयी भएका छन् ।

उपाध्यक्ष मानन्धरले ३३६ मत पाएका छन् भने प्रतिस्पर्धी हीराकुमार थोकरले २६३ पाइन् । सचिवमा खडकाले ३०४ मत पाए भने प्रतिस्पर्धी कृष्ण बस्नेतले २८४ पाए । सहसचिव महिलामा कमला बस्नेतले २७७ पाइन् भने प्रतिस्पर्धी मेनुका सुवेदीले १९५ मत पाएकी छन् ।

पुरुष सहसचिवमा भने पूर्व अध्यक्ष पोखरेलको प्यानलबाट हरि ओली १६८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विदुर शर्माले १४५ मत पाए । पूर्व अध्यक्ष पोखरेलको प्यानलबाट उपाध्यक्षमा हीरा थोकर, सचिवमा कृष्ण बस्नेत,उपसचिवमा मेनुका सुवेदी उपविजेता बनेका छन् ।

अध्यक्ष पदका विजयी श्रेष्ठलाई पोलिट ब्युरो सदस्य पार्वत गुरुङको समर्थन र पूर्व अध्यक्ष पोखरेललाई अर्का पोलिट ब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको समर्थन रहेको थियो । एमाले दोलखामा लामो समयदेखि पोखरेल र गुरुङबीच गुटबन्दी हुँदै आएको छ । यसै गरी खुला दलित सदस्य ६ का लागि ११, निर्वाचन क्षेत्र खुला सदस्य १० का लागि १५, भूगोलतर्फ २५ पदका लागि उम्मेदवार बनेका ७१ जनाको नतिजा भने आउन बाँकी रहेको निर्वाचन समिति संयोजक श्रेष्ठले जानकारी दिए । सबै पदमा प्रतिस्पर्धा भएको छ । अधिवेशनमा ६२४ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया