
नेपाल भारतसँग १३२ रनले पराजित, विश्वकप यात्रा टुंगियो
काठमाडौं — यू-१९ विश्वकपमा हारसँगै नेपालको यात्रा टुंगिएको छ । सुपर सिक्सअन्तर्गतको दोस्रो तथा अन्तिम खेलमा बलियो टिम भारतसँग १३२ रनले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको हो ।
शुक्रबार सम्पन्न खेलमा भारतले दिएको विशाल रन २९८ रन लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १६५ रनमात्र बनाएपछि नेपाल १३२ रनले पराजित हुँदै विश्वकप यात्रा टुंग्याएको हो ।
भारतले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेट ४८ रन बनाउँदा दिपक बोहोरालाई गुमाएको थियो । उनले २२ रन बनाएका थिए । त्यसपछि सम्हालिएर ब्याटिङ गर्न नसकेको नेपालले थप २९ रन बनाउँदा थप ६ विकेट गुमाएको थियो । नेपालले ७७ रन बनाउँदा सातौं विकेटको रुपमा दिपेश कँडेललाई गुमाएको थियो । नेपालका अर्जुन कुमालले २६ रन बनाएका थिए । उत्तम रंगु थापामगर आठ रनमा पेभेलियन फर्किए । विशालबिक्रम केसी एक रन बनाउँदै आउट भए । दीपक डुम्रेले खातासम्म खोल्न सकेनन् ।
गुल्सन झा पनि एक रनमै आउट भए । दिपेश कँडेलले पनि खाता खोल्न सकेनन् । सुवाष भण्डारी पाँच रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान देव खनालले सुवास भण्डारीसँग केही राम्रो साझेदारी गरेका थिए । सुवास ५ रन बनाउँदै आउट भएका थिए । त्यसपछि टिमको स्कोर १२० रन हुँदा कप्तान खनाल ३३ रन बनाउँदै नवौं विकेटको रुपमा आउट भएपछि नेपालको हार निश्चित भएको थियो ।
३८.५ ओभरमा नवौं विकेट गुमाएको नेपालले अन्तिम विकेटका लागि मैदान आएका दुर्गेश गुप्तान र आकाश चन्दले सम्हालिएर ब्याटिङ गरेपछि ५० ओभर टिकेको थियो । गुप्ताले २९ रन बनाए भने चन्दले १८ रन बनाउँदै नटआउट रहँदै अन्तिमसम्म डटेर ब्याटिङ गरेका थिए ।
भारतका लागि सौम्य पाण्डेले ४ विकेट लिएका थिए भने अस्रिन कुलकर्नीले २ विकेट लिएका थिए । राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले एक–एक विकेट लिए । त्यसअघि नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान उदय सहरान र सचिन दासको उत्कृष्ट शतकसँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो ।
भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो । त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । मुसिर खान नौ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा पनि १४ रन पायो ।
उदयले १ सय रन बनाएका थिए भने सचिनले ११६ रन बनाएका थिए ।
त्यस्तै भारतका लागि आदर्श सिंहले २१ रन बनाउँदा अस्रिन कुलकर्नीले १८ रन बनाए । त्यस्तै प्रियांशु मोलियाले १९ रन बनाउँदा मुसिर खान १२ रनमा नटआउट रहे । नेपालका लागि गुल्सन झाले ३ विकेट लिँदा एक विकेट आकाश चन्दले लिए भने एक विकेट रन आउट भए ।
यस पराजयसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ । नेपाल समूह चरणको खेलमा न्यूजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तानविरुद्ध जित हात पार्दै सुपर सिक्समा प्रवेश गरेको थियो । त्यसपछि सुपर सिक्समा बलिया टोली बंगलादेश र भारतसँग खेलेको नेपालले दुवै खेलमा पराजय भोगेको थियो ।
नेपालविरुद्ध जित हात पारेको भारत सेमिफाइनल प्रवेश गरेको छ । उक्त समूहबाट अब पाकिस्तान र बंगलादेशमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ । ‘सुपर सिक्स’ चरणको अर्को समूहबाट भने दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।



कागजपत्र |
