जापानमा एक नेपाली विद्यार्थीको हृदयघातबाट मृत्यु


लमजुङ – जापानमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो ।

पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् । जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) युवराजको निधन भएको अस्पतालले जानकारी दिएको उनका साथीहरूले बताएका छन् ।

उनीसँगै बेंसीसहरमा क्याम्पस पढेर जापानमा पनि एउटै कलेजमा पढ्दै आएका विपिन घिमिरेका अनुसार युवराज र उनी छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । युवराजसँगै बस्दै आएका साथीले राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र सबै मिलेर अस्पताल लगेको बताए ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज जापनको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । दोर्दी गाउँपालिका(६ का वडा सदस्य एवं मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले युवराजको शव नेपाल ल्याउन पहल भइरहेको बताए ।

 

 

प्रतिक्रिया