
बालुवा बोकेर पढेकी छाया, लोकसेवासँग गजबकै माया
काठमाडौं– सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा जन्मिएकी छाया जैसीले गरेका दुःख लेखेर साध्य छैन । बुढीगंगा नगरपालिका–६ माल्तामा जन्मिएकी छाया सात सन्तानमध्ये कि चौथो सन्तान हुन् ।
अति विपन्न परिवारमा हुर्किएकी उनको परिवारले ज्यालामजदुरी र खेती किसानी गथ्र्यो । साँझ बिहान खेतबारीमा काम गर्ने उनका बुवा महानन्द्र दिउँसो ज्यालामजदुरी गर्थे । छाया जुन विद्यालयमा पढिन्, त्यही विद्यालयको शुल्क तिर्नका लागि बुबा महानन्द्रले भवन निर्माणको गरेका थिए ।
‘आमा मैलै पढेको विद्यालय नजिकै रहेको नदीबाट बालुवा बोकेर बेच्नुहुन्थ्यो । म पनि उहाँसँगै बिहान बालुवा बोक्न जान्थे । त्यसपछि दिउँसो त्यहि विद्यालयमा पढ्न जान्थे’ विगत सम्झिँदै उनले भनिन्, ‘बुवाले पनि सोही विद्यालयमा ढुंगा फुटाउने काम गर्नुहुन्थ्यो ।’
उनले कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी हुन् । सोही विद्यालयमा कृषि प्राविधिकको पढाइ हुन्थ्यो । गाउँमा ‘छोरीलाई पढाएर के हुन्छ’ भन्ने सबैको मानसिकतालाई चिर्दै उनका बुवाले जिद्दी गरेरै छायालाई उक्त विषय पढ्न लगाएका थिए । उक्त विषय पढ्न अलि खर्चिलो हुने भएकाले बुवाआमासँगै ज्याला मजदुरी गर्नुपरेको तितो अनुभव उनीसँग छ ।
कडा परिश्रमले सफलता दिलाउँछ भन्ने कथन उनीसँग मेल खान्छ । विगतमा साह्रै दुःख गरेर पढेकी उनी सफलताको सिँढी चढ्दै गएकी छिन् । छायाले ६ पटक लोकसेवा आयोगको परीक्षा पास गरेकी छन् । लोकसेवा पास गर्न शहर नै जानुपर्छ र मंहगा तयारी कक्षा नै लिनुपर्छ भन्ने मान्यतालाई छायाले चुनौति दिएकी हुन् ।
भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गएको वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिकपछि नाम वैकल्पिकमा मात्रै निस्कियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते नतिजा आएर सिफारिस भइन् ।
त्यसपछि पनि पुस २५ गते लुिम्बनी प्रदेशमा भेटेनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवा आयोग पाँचौ तह, पुस ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् ।
यसरी २०८० वैशाखदेखि पुस(९ महिना)सम्म लोक सेवाका ६ वटा परीक्षामा उनको नाम निस्कियो । गत पुसमा उनको पोस्टिङ उदयपुरको ताप्ली गाउँपालिकामा भयो । उनी चौथो तह अन्तर्गत नायब पशु सेवा प्राविधिकमा कार्यरत छिन् ।
तर, हिजो मात्रै लोकसेवा आयोग बुटवलले लिएको अन्र्वार्तामा उनी सफल भएकी छिन् । योसँगै संघीयमा निस्किए त्यहीँ काम गर्ने उनको सपना पूरा भएको छ । उनको पोस्टिङ राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्ज, बाँकेमा भएको छ ।
‘म १० बजेदेखि साँझसम्म कार्यालयमा काम गर्थे । साँझ बिहान कोठामै पढेर मैले तयारी गरेको थिए’ उनले भनिन्, ‘पहिलो प्रयासमै संघीय लोकसेवा आयोगको राजपत्रअंकित प्रथम श्रेणीमा(सुब्बा) सफलता पाए । मेरो जीवनमा अर्को खुसी थपिएको छ ।’



आशिष मल्ल |
