आज चार संसदीय समितिकाे बैठक बस्ने, यस्ता छन् एजेन्डा


काठमाडौं – चारवटा संसदीय समितिको बैठक आज बस्दै छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो ।

बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।

दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बिहान ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा श्रमिकको हित विपरीत हुनेगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा विभागीय मन्त्री शरतसिंह भण्डारीसँग नीतिगत छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया