

न्यायाधीशद्वय पोखरेल र ढकालको पहिलो इजलासः कस्तो रह्यो मुद्दाको कार्यप्रगति ?

काठमाडौं – मुलुकको सबैभन्दा ठूलो न्यायीक निकाय सर्वोच्च अदालतलमा आज (शुक्रबार) देखि ६ जना नयाँ न्यायाधीशहरु इजलासमा देखिए ।
न्याय परिषद्ले नियुक्त गरी बिहीबार मात्रै सपथ लिएका ६ न्यायाधीश मध्ये ४ जना यसअघि पनि इजलासमा न्यायाधीशको हैसियतले बसेको अनुभव थियो भने २ जना चाहिँ कानुन व्यवसायीले इजलाससम्म पुगेको अनुभव थियो । तर, ती दुईलाई आज पहिलोपटक नै मुलुककै सर्वोच्च न्यायापालिकाको इजलासमा न्यायाधीशको रुपमा बस्ने सौभाग्य प्राप्त भयो । फलस्वरुप ती दुवै जनाले संयुक्त इजलासमा मुद्दाको सुनुवाई गर्ने अवसर पाए ।
ती मध्येका नवनियुक्त न्यायाधीश सुनिल कुमार पोखरेलले न्यायाधीश हरिप्रसाद फुयालसँग इजलास शेयर गर्ने अवसर पाए भने अर्का न्यायाधीश बालकृष्ण ढकालले न्यायाधीश डा. नहकुल सुवेदीसँग इजलास शेयर गर्ने अवसर पाए ।
न्यायाधीश फुयाल र पोखरेल इजलाश नं. ८ मा परेका पहिलो सूचीका १४ वटा मुद्दा मध्ये ४ वटामा आदेश भयो भने ५/५ वटा मुद्दा हेर्न नभ्याई र हेर्न नमिल्नेमा परेका थिए ।
त्यस्तै मिलापत्रका ६ मुद्दामा छ वटैमा फैसला भए भने अर्को सूचीमा परेका ४१ मुद्दा मध्ये १३ वटामा फैसला भए भने १ मुद्दामा आदेश, १ वटामा स्थगित र २६ वटा मुद्दा हेर्न नभ्याइनेमा गएका छन् । समग्रमा सुवेदी र पोखरेलको इजलासमा परेका शुक्रबारका जम्मा मुद्दा ६१ मुद्दा मध्ये १९ मुद्दामा फैसला ५ वटामा आदेश, हेर्न नभ्याईनेमा ३१, हेर्न नमिल्नेमा ५ र १ वटा मुद्दा स्थगित भएका छन् ।
त्यस्तै न्यायाधीश डा. सुवेदी र ढकालको इजलास नं. ३ मा शुक्रबारको पहिलो सूचीमा १० मुद्दा परेकोमा ती मध्ये ५ वटामा आदेश भयो भने ५ वटा हेर्न नभ्याईनेमा गयो । त्यस्तै सोही इजलासको दोस्रो सूचीमा परेका ५४ मुद्दामध्ये ११ वटामा फैसला हुँदा ५ वटामा आदेश, ५ वटा स्थगित र ३३ वटा हेर्न नभ्याइएकोमा गएको थियो ।
समग्रमा न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासमा परेका जम्मा ६४ मुद्दामा ११ वटामा फैसला भए भने आदेश १०, स्थगित ५, हेर्न नभ्याईनेमा ३८ वटा मुद्दा गएका छन् ।
यी दुईजना बाहेक सर्वोच्चमा बिहीबार नियुक्त भएका अन्य चार न्यायाधीशहरु शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना यसअघि पुनरावेदन अदालतहरुमा न्यायाधीशका रुपमा काम गरिसकेका थिए ।
शुक्रबार सर्वोच्चमा जम्मा ३ सय ७७ मुद्दा पेसीमा चढेका थिए भने ती मध्ये ८४ वटा फैसला भएका थिए भने ५८ वटामा आदेश, ३२ वटा स्थगित, १८५ वटा हेर्न नभ्याइने र १८ वटा हेर्न नमिल्नेमा परेका थिए ।

