सेनाका दुई तारे जर्नेलको सरुवा


काठमाडौं- नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) हरुको सरुवा भएको छ । सात जना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको हो । सरुवाको पहिलो नम्बरमा मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारी रहेका छन् ।

ब्याच नम्बर १७६२ भएका उनको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ कार्यरथी विभाग पुगेका छन् । उनले कार्यरथीसँगै अतिरिक्त निमित्त निरीक्षणाधिकृतको समेत जिम्मेवारी सम्हाल्ने छन् । ब्याच नम्बर १७७० भएका उनी पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए ।

सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएका उनको ब्याच नम्बर १७७५ रहेको छ । उपरथी सुदर्शन सिलवाल मध्यपूर्वी पृतना हेडक्वार्टर गएका छन् । ब्याच नम्बर १८१० भएका उनी सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयबाट सरुवा भएर त्यता पुगेका हुन् ।
सुदूरपश्चिम पृतना हेडक्वार्टरको कार्यभार गणेशकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् । कार्यरथी विभागबाट त्यता गएका उनको ब्याच नम्बर १९३० हो । त्यसैगरी, १६८२ नम्बरको ब्याच भएका उपरथी योगराज शर्मा रथी अशोक सिग्देलको ठाउँमा आएका छन् । निरीक्षणाधिकृत विभाग (आफ्नो कार्यको अतिरिक्त निमित्त विभागीय प्रमुख,युद्धकार्य विभाग र निमित्त विभागीय प्रमुख, प्रबन्धरथी विभागको समेत कार्य गर्ने गरी) मा कार्यरत उनलाई व्यवस्था, नीति तथा योजना विभाग पठाइएको हो ।
त्यस्तै, उपरथी शर्मा युद्धकार्य विभागको विभागीय प्रमुख र प्रबन्धरथी विभागबाट अतिरिक्त कार्य काज फिर्ता भएका छन् । ब्याच नम्बर १७६० भएका उपरथी सागरबहादुर थापाले प्रबन्धरथी विभागको समेत कार्यभार सम्हाल्नुपर्ने भएको छ । उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत उनलाई आफ्नो कार्यको अतिरिक्त प्रबन्धरथी विभागको निमित्त विभागीय प्रमुखमा नियुक्ति गरिएको हो ।

प्रतिक्रिया