कांग्रेस संस्थापन इतर पक्षको बैठक आज


काठमाडौं – नेपाली कांग्रेसको इतर पक्षको बैठक आज बस्दैछ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बोलाइएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए।

समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक मंगलबारका लागि बोलाएका थिए। तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको हो।

आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ।

कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्। त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर पक्षको दाबी रहेको छ।

नीति महाधिवेशनको रूपमा हेरिएको महासमिति बैठकमा पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि सभापति शेरबहादुर देउवा तेस्रो पटक बैठक सार्ने मनस्थितिमा पुगेका छन्।

आसन्न राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर देउवाले पुस १६ देखि १९ सम्मका लागि तय गरिएको महासमिति बैठकलाई फागुनमा पुर्‍याउन खोजेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्

यद्यपि आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा इतर पक्षको भागबण्डाका बारेमा पनि छलफल हुनेछ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। सत्ता गठबन्धनले भागबण्डा गरेर चुनाव लड्ने तयारी गर्दा इतर पक्षले आफ्नो दाबेदारी राख्ने जनाइएको छ।

 

प्रतिक्रिया