

यस्ता छन् फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु

काठमाडौँ – सरकारले फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।nआज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो।
यस्तै बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ। त्यसैगरी नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ ।
बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ११ गते बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७७ स्वीकृत गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

