

नवराज विक हत्या प्रकरणः वडाध्यक्षसहित २३ जनालाई जन्मकैदको फैसला

रुकुमपश्चिम – रुकुम पश्चिमका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रूकुम पश्चिम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश खड्गबहादुर केसीको एकल इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २४ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज मंगलबार यस्तो फैसला आएको हो ।
सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।
उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ। यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ। त्यसैगरी अरु दुईजना नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ।
यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए।
त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।

