

७१ जिल्लामा युवा समिति अध्यक्ष चयन

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समिति अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि ती समिति रिक्त थिए।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्न ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए। सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए । उनले जिल्ला अध्यक्षले नै समितिलाई पूर्णता दिने बताए।
जिल्ला युवा समिति सात सदस्यीय हुन्छ । समितिका चार जना युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन जना युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने व्यवस्था छ । सरकारले संघसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्न प्रदेश युवा परिषद् गठनको तयारी गरेको छ ।
अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ । परिषद्का उपाध्यक्ष ढुंगेलले ७ सय ५३ स्थानीय तहका वडामा पनि युवा समिति गठन गर्न ऐन ल्याउन लागिएकोे जानकारी दिए। सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५’ को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो । सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो।
उनले युवा राष्ट्रिय अभियान र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्वयंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको बताए। परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत (एक करोड सात लाख) युवा छन्।

