

कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजिनामा

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजिनामाको घोषणा गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजिनामा दिएको उल्लेख गरे । उनले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य र एकता हुनु आवश्यक छ भने।
कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।

