

‘रिगल’को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भइ आजीवन कारावासको सजाए पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
आज (बिहीबार) न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।
बाँकेका चेतन मानन्धरको दिनदाहाडै खुँडा रोपेर हत्या गरेर आजीवन जेल सजाए पाएका रिगललाई ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।
चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ ।
सर्वोच्चले मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न आदेश गरेको छ ।

