बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य


भक्तपुर – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताएका छन् ।
ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा उनले बालबालिका र ज्येष्ठ नागरिकको खानपान तथा बसोबासका लागि  आयोजना गरिएको महायज्ञ सकारात्मक कार्य भएको बताए । ‘सामाजिक क्षेत्रमा गरिएका कामले मानिसको पहिचान बनाउँछ । महायज्ञले लिएको सङ्कल्प पूरा गर्न सबैको सहयोग आवश्यक छ’, मन्त्री आचार्यले भने ।
महायज्ञमा सङ्घीय सुनुवाइ समितिका सभापति एवं सङ्घीय सांसद किरणकुमार शाहले ज्येष्ठ नागरिकको हकहितले नै धर्म प्राप्ती हुने बताए । उनले राजनीतिभन्दा माथि उठेर सनातन धर्म र संस्कृतिका बारेमा सबैले सिक्नुपर्ने बताए । सडकमा रहेका बालक तथा ज्येष्ठ नागरिकलाई निःशुल्क गास, बास र कपासको व्यवस्थाका महायज्ञद्वारा थालिएको सङ्कल्प पूरा हुनुपर्ने उनले औल्याए ।
विराट पितृ मुक्ति महायज्ञमा ७० वर्ष माथिका ४० भन्दाबढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका विभिन्न जिल्लाबाट आउनुभएका ज्येष्ठ नागरिकलाई महायज्ञका गुरु एवं सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । महायज्ञ असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया