कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले आज (बिहिबार) ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज उक्त आदेश दिएको हो। आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन्।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी र अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

९३ सदस्य रहेको प्रदेश सभाको बहुमत ४७ पुर्याउन ४७ सीट आवश्यक पर्दछ । सभाको अध्यक्षता गरेका मन्सुरीले मतदान गरेपछि उनै मन्सुरीले थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया