

चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड

काठमाडौं – भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ-नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।
इसरोले आफ्नो एक्स अकाउन्टमार्फत उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ ।
तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरू रेकर्ड गरिरहेको छ ।
इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ – चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण Instrument for the Lunar Seismic Activity (ILSA) ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।
सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतीत हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार (ILSA) को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरूका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो । एएनआई

