

सरकार कति समय चल्छ भन्ने टेन्सन छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूलाई प्रधानमन्त्रीका रुपमा केही लिनुदिनु नभएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले देश, जनता र क्रान्तिबाट प्रप्त उपलब्धिको रक्षाका लागि आफ्नो बाँकी जीवन सम्पूर्ण रुपले लगाउन बाहेक आफ्नो केही उद्देश्य पनि नभएको बताए ।
आज सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दे आफुले सरकारमा रहेर पाउनु र गुमाउनु केही नरहेकालो सरकार कति टिक्छ भन्ने कुनै टेन्सन नभएको बताए । ‘मेरो उदेश्य भ्रष्टाचर उन्मुलन राष्ट्र निर्माण रहेकाले यो सरकार कति समय चल्छ, चल्दैन भन्नेमा मेरो ‘टेन्सन’ छैन’, उनले भने, ‘कतिपय मान्छेहरूले सरकार जोगाउन यसो गर्यो, त्यो गर्यो भन्छन्। वाहियात कुरा भन्छन्।’
उनले आफूले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, एक महिना भए पनि ठीकै भन्ने सोच राखेको बताए। ‘राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ, हेर्छु। एक महिना भए छाडिदिने, म फेरि सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन। तर अहिले झन्डै आठ महिना हुन लाग्यो। अझ राम्रो, राम्रो, राम्रोतिर नै गएको देखिन्छ। मोर्चा पनि बन्यो। गठबन्धन पनि राम्रै गइरहेको छ’, उनले भने।
मंगलबार बुटवलमा आयोजित सन्देश सभामा पनि प्रचण्डले यस्तै तर्क गरेका थिए। त्यहाँ उनले सरकारमा बस्नका लागि आफूले जे पनि गर्छ कि भन्ने आशंका नराख्न अनुरोध गरेका थिए। ‘मैले विश्वभरको हेरेको थिएँ, १० दिन प्रधानमन्त्री कहाँकहाँ देशका कोको भएछन्, १५ दिन मात्रै प्रधानमन्त्री भएर छोड्ने कोको रहेछन्, म त्यो हेर्दै थिएँ। म पनि सायद १०, १५ दिन, एक महिनामा जान्छु कि जस्तो लागेको थियो। त्यसो भयो भने पनि केही छैन। म राम्रो सुरुवात गर्छु’, प्रधानमन्त्री बन्दै गर्दाको मनस्थितिबारे उनले भनेका थिए।
बिहीबार वीरन्द्रनगरमा उनले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले चालेका कदमको चर्चा गर्दै दोषी देखिए कसैलाई नछाड्ने बताए। उनले भने, ‘एकथरीले माओवादी र प्रचण्डले आफ्नो मान्छेचाहिँ बचाउँछ, कांग्रेस र एमालेलाई मात्रै हान्छ भनेर निकै हल्ला गरिरहेका छन्। मैले सीआईबीलाई, प्रहरीलाई भनेँ, यदि दोषी देखिन्छ भने माओवादीका जोसुकै नेता भएता नि र गर्दै जाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनेको छु।’

