


कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद सुवालको माग

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन्।
आज (मंगलवार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सुवालले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्।
त्यसैगरी उनले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
यसैगरी सुवालले सांसद सुवालले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्मविपरीत रहेकाले मान्य नहुने पनि बताए।
उनले भने, ‘निर्वाचन आयोगले निर्वाचनसम्बन्धी एकीकृत विधेयक मस्यौदा गरेको छ। त्यसमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्रविरोधी प्रावधान यथावत् राखिएको छ। यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो तर अहिलेसम्म फैसला भएन।’

