एसपी खड्का अपराधीका निम्ति आक्रामक, सहरमा सेवक


बिराटनगर– कोरोना भाइरस (कोभिड–१९)को महामारीमा पहिलो चरणको लडक डाउन सुरु हुँदै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काले सहरमा ‘मास्क वितरण’ अभियान चलाए ।

मास्क नलगाई हिँड्नेलाई प्रहरी कोभिड–१९ बारेको सचेतना दिन थाल्यो । कतिपय अभरमा परेकालाई अस्पतालसम्मको पहुँचका निम्ति खड्काको पहलले काम गरेको थियो । तर यहि मेसोमा महामारीलाई बाहना बनाएर अपराध गर्नेलाई भने उनले प्रहरीको कस्टडीको बास पनि गराए ।

सुरुआती चरणमै नेपालमा दुर्लभ जस्तो हुने गरेको लागुऔषध आइस ड्रगका अभियुक्तलाई खड्काले हिरासतको बास गराएका थिए ।

विश्वबजारको खतरनाक मानिने आइस ड्रग (मेथामफेटामाइन)सहित जिल्ला प्रहरी कार्यालय मोरङ र लागु औषध नियन्त्रण कार्यालयको टोलीले बिराटनगरबाट व्यापारी रामप्रसाद पोखरेललाई नियन्त्रणमा लिई कानुनी कारबाहीको बाटो अख्तियारी गरेको थियो ।

आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका पोखरेललाई नियन्त्रण गरी थप खोजतलास गरिएको थियो । पोखरेलको साथबाट २ सय २२ ग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच सय ३० ग्राम उक्त लागु औषध प्रहरीले बरामद गरेको थियो ।

कतिपय फरार अपराधीलाई कानुनी दायराको बाटो देखाएका खड्काले हालै भने क्रिकेटको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी खेलाउने तीन जनालाई हिरासतमा लिए ।

मोरङ प्रहरीले बिराटनगर–१५ का मुन्ना भन्ने सत्यजित साह, बैजनाथ साह र बिराटनगर–१७ का जगदिश साहलाई ६० हजार नगदसहित नियन्त्रणमा लिएको थियो ।

नेपाल–भारत नाका रहेको मोरङका विभिन्न स्थानमा हुने चोरीपैठारीलाई नियन्त्रणमा लिन खड्काको कडा निर्देशन हुनासाथ सीमामा कडाई गरिएको छ ।

‘चाडवाडका बेला हुने विभिन्न प्रकारका चोरी पैठारी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयको रेकी प्रभावकारी देखिएको छ’, बिराटनगरका सर्वसाधारण भन्छन् । 

चाडपर्वका बेला स्थानीय मात्र होइन, पूर्वका विभिन्न स्थानका मानिस जोगवनीलाई मुख्य बजार बनाउने गर्दथे । तर कोभिड–१९ को महामारीका कारण सीमामा कडाई गरेपछि अहिले बिराटनगरको व्यापार बढेको छ । प्रहरीले सीमापार बजारका निम्ति अनेक माध्यमबाट आँखा छलेर जाने अवस्थामा नियन्त्रण गर्दा स्थानीय व्यापारी खुसी भएका छन् ।

गृह मन्त्रालयले जिल्लाका सबै प्रमुखलाई यस महामारीका अवस्थामा आएको चाडवाडमा काममा नै रहन निर्देशन दिएपछि खड्काले सुरक्षाका निम्ति जिल्ला प्रशासन कार्यालयको निर्णयलाई प्रभावकारी कार्यान्वयन गरेका छन् ।

उनी भन्छन्,‘सीमावर्ती क्षेत्र रहेको तथा चाडवाडमा आपराधिक क्रियाकलाप हुन सक्ने भएपछि मोरङमा राती ८ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।’

सर्वसाधारणले स्वास्थ्य सुरक्षा अपनाएर दिउँसो चाडवाडका किनमेलमा प्रतिबन्ध छैन । बरु, प्रहरीले सहजीकरण गर्नुपर्छ भन्ने खड्काको निर्देशन छ । ‘सबै अप्ठ्यारालाई फ्रन्टलाइनमा रहेका प्रहरी कर्मचारीले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयलाई मुख्य बनाइएको छ’, उनी भन्छन्,‘हाम्रो काम नै नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले त्यसमा व्यवाहारिक पक्षलाई पनि चासोपूर्वक कार्यान्वयन गर्न निर्देशन भएको छ ।’

प्रतिक्रिया