चितवनमा दूध उत्पादन घट्यो


चितवन – जिल्लामा दूध उत्पादन घटेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए।

उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ।

उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ।

उनका अनुसार २०७७ सालबाट सुरु भएको लम्पी स्किन रोगको संक्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो। रोग संक्रमण भएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उहाँले बताए।

दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उनको विश्वास छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालन गरिएको छ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार चार सय ७० पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ९५ गाई मरेका छन्।

संक्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा आचार्यले बताए। हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ।

अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले संक्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया