


उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीका लागि पहल शुरु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले यस घटनाको खबरले आफू मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुखद घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’
पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।

