पूर्वमुख्यमन्त्री कार्कीद्वारा मुख्यमन्त्री थापाको शपथ ग्रहण समारोह बहिष्कार


विराटनगर – कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित सपथग्रहण समारोहमा आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन्।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुने गरेकोमा अहिले त्यसो नभएको कार्कीले बताए। नयाँ मुख्यमन्त्रीको शपथपछि बधाइ दिएर सिट छोड्ने प्रचलन भए पनि आफ्नो लागि सिट व्यवस्थापन नगरेकाले शपथग्रहण समारोहमा बस्नु उपयुक्त नलागेको भन्दै कार्की बाहिरिएका थिए।

शपथ ग्रहण समारोहबाट बाहिरिएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश प्रमुखप्रति आक्रोश व्यक्त गरेका छन्। कोशी प्रदेशमा अधिनायकवादको अभ्यास भएको र निर्लज्जताको पराकाष्ठा भएको उनले लेखका छन्।

प्रदेश प्रमुखले स्वेच्छाचारिता देखाएको उनको गुनासो छ। यसअघि असार २२ गते थापाले मुख्यमन्त्रीको शपथ लिँदा भने कार्की उपस्थित भएका थिएनन्। त्यसबेला एमालेले आफ्ना सांसदलाई पनि शपथमा जान रोक लगाएको थियो।

प्रतिक्रिया