सुन बरामद अपडेटः यी हुन् अर्ब बढीको सुनकाण्डमा पक्राउ परेका ट्याक्सी चालकसमेत चार जना


काठमाडौं – राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरेको सुनसँगै चार जनालाई पक्राउ गरेको छ ।

विभाग स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जना र ट्याक्सी चालकसमेत गरी चार जना पक्राउ गरिएको छ। ती ट्याक्सी चालकको भने उक्त घटनामा अहिलेसम्म संलग्नता पुष्टी भइनसकेको पनि जनाइएको छ ।

भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको विभागका एक अधिकारीको भनाइ छ। सुन हङ्कङबाट आएको हो भने अहिले सुनको तौल जोखेर गुणस्तर पहिचानका लागि राष्ट्र बैंकको टक्सार विभागमा लैजाने तयारी गरिएको छ ।

पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक रहेको जनाइएको छ । ती मध्ये भुजेलद्वय मामा-भाञ्जा रहेको खुलेको छ ।

उनीहरूमध्ये भुजेलद्वय बुधबार पक्राउ परेका थिए भने अन्य २ जना मंगलबार नै पक्राउ परेको पनि खुलेको छ । उनीहरूले बा.२.ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन भन्सार बाहिर लैजाँदै गरेको अवस्थामा विभागले सुनसहित पक्राउ गरेको थियो ।

बरामद गरिएको सुन १०० किलो भन्दा बढी रहेको अनुमान गरिएको छ । उक्त सुनको परिमाणका आधारमा आजको दिनको मूल्यअनुसार १ अर्बभन्दा बढी मूल्यको सुन रहेको जनाइएको छ ।

प्रतिक्रिया