
संक्षेपमा स्वर्गीय सीता दाहाल
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो ।
वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन्।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लोसमय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएकी थिइन् ।
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ ।
छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएका छन् ।
सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।



कागजपत्र |
