

पाँच वर्षपछि धरानमा पुनः फैलियो डेंगु संक्रमण

धरान – सुनसरीको धरान उपमहानरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ। धरानका धरैजसो वडामा डेंगुको संक्रमणका कारण सयौं बिरामी परेका छन्।
हप्ता दिनदेखि डेंगु रोगको संक्रमण फैलँदा समेत यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ। धरानमा अव्यवस्थित बसोवास, फोहरमैला र खुला भाडामा पानी जम्मा गर्ने गरेका कारण लामखुट्टेको संख्या वृद्धि भएर डेंगु संक्रमण फैलिएको हो। धरानमा पाँच सयभन्दा बढी सर्वसाधारण डेंगुको संक्रमणले थला परेका छन्।
डेंगुबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ। डेंगु लागेका बिरामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गराइरहेका छन्।
धेरैजसो बिरामीहरू अस्पताल भर्ना नभई घरमै बस्ने गरेका कारण निको हुन धेरै समय लाग्ने गरेको पाइएको छ। धरानको विजयपुर अस्पतालमा २ हजार बिरामीले परीक्षण गर्दा ३ सय जनालाई डेंगु रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ।

