


पाँच दिने भ्रमणका लागि आज चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चीनको सिचुवान प्रान्तको भ्रमणका लागि मन्त्री श्रेष्ठको टोली आज राति ११ः२० को उडानमार्फत छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण हुने कार्यक्रम रहेको छ ।
श्रेष्ठ बुधबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन उनको सचिवालयले जनाएको छ ।
सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम रहेको छ । त्यसैगरी, शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग श्रेष्ठले भेटघाट गर्नेछन् भने त्यहाँ अध्ययनरत चाइनीज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने पनि कार्यक्रम तय भएको छ ।
त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने र दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन् ।
शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ । दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन् ।
शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११ः१० बजे उनी स्वदेश फर्कनेछन् । भ्रमणमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।

