कोसी सरकारले पठायो बाढीपहिरो पीडितलाई राहत रकम


विराटनगर – कोसी प्रदेश सरकारले पहाडी जिल्लामा बाढी र पहिरोबाट पीडित बनेका परिवारलाई बिहीबार राहत रकम पठाएको छ।ताप्लेजुङ र पाँचथर जिल्लामा बाढी एवं पहिरोमा परेर मृत्यु भएकाकाे परिवार तथा आफन्तले पाउने गरी सरकारले राहत रकम पठाएको हो।

संखुवासभा र भोजपुरमा भने मृतकका परिवारलाई राहत रकम पठाइएको छैन। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा गत सोमबार बसेको कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राहत स्वरूप प्रति मृतक परिवारलाई १ लाख रूपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको थियो।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसारको सरकारले राहत रकम पठाएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने र पीडित परिवार एवं आफन्तले पाउने गरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रकम पठाएको जानकारी उनले दिए।

त्यस्तै, सरकारले बाढी र पहिरोमा परी संखुवासभामा क्षतिग्रस्त भएका १७ वटा घर पुनर्निर्माणका लागि राहत स्वरुप ७ लाख ७० हजार रूपैयाँ पठाएको विष्टले बताए। बाढी र पहिरोमा परेर संखुवासभामा १३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका थिए। ४ वटा घरमा आंशिक क्षति पुगेको थियो।

पूर्ण रूपमा क्षतिग्रस्त बनेका घर पुनर्निर्माणका लागि ५० हजार र आंशिक क्षति पुगेका घरका लागि ३० हजारका दरले राहत रकम पठाइएको विष्टले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय संखुवासभाले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा उक्त रकम पठाइएको हो।

प्रतिक्रिया