पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा पराजुली र ढकाल नियुक्त


काठमाडौं – पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गरेको प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

ऐनको दफा ८ को उपदफा २ अनुसार संस्कृतिविज्ञ एवम् धार्मिक पर्यटन विज्ञमध्येबाट बढीमा सातजना सदस्य कोष सञ्चालक परिषद्‌मा नियुक्त गर्ने व्यवस्था छ ।

परिषद्‌मा राष्ट्रिय योजना आयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मूलभट्ट, संस्कृति, गृह, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था पनि ऐनमा गरिएको छ । -रासस

प्रतिक्रिया