

ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिने व्यक्ति पक्राउ

काठमाडौं – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
रामेछापको सुनापती गाउँपालिका-१ का २३ वर्षीय सुमन चौलागाईंलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौंको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईजंको दुईपाग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो।
नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ। अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए।

