

नाबालिगको नक्कली फेसबुक प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं – नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग गरेको पीडितले उजुरी परेपछि प्रहरीको साइबर ब्यूरोले कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ मा बस्ने १८ वर्षीय विनोद सुनारलाई पक्राउ गरेको हो।
पीडितले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जाल मार्फत मित्रताका लागि आएको अनुरोध चिनजानकै मानिस होलान् भनि स्वीकार गरेकी थिइन्।
कुराकानीका क्रममा पीडकले म्यासेजिङ एप मार्फत पठाएको प्रेम प्रस्ताव स्वीकार गरी बोलेकी थिइन्। पीडितलाई आफ्नो गोप्य अंग देखाई भिडियो कल गर्न दवाव दिने र सुनारले भने बमोजिम नगरे प्रेम सम्बन्धका बारेमा बुबा, आमा लगायत आफन्तहरूलाई बताइदिन्छु भन्दै धम्की दिएका थिए। धम्की दिने गरेपनि सो प्रोफाइल ब्लक गरेको पीडितले बताइन्।
केही समयपश्चात् पीडितको नाम र तस्बिरसहितको नक्कली प्रोफाइलबाट अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्विर र भिडियोमा जोडी, दिदी लगायत आफन्तहरूलाई पठाई समाजमा आफ्नो बदनाम, बेइज्जत गरी चरित्रहत्या गरेकाले सो कार्यमा संलग्न व्यक्ति पत्ता लगाउन पीडितले माग गर्दै उजुरी दिएकी छिन्।
प्रहरीका अनुसार सुनारलाई विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको छ। काठमाडौं जिल्ला अदालतको आदेशले दिन ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

