

शहीद स्मारक ‘ए’ डिभिजन लिगः एक खेल अगाडि नै चर्च ब्वाइज युनाइटेड च्याम्पियन

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग २०८० मा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको छ ।
मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि लिगको पहिलो सिजन खेलेको चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।
नेपाली घरेलु फुटबल संरचनामा सी डिभिजन छनोटदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने दुर्लभ इतिहास बनाउने चर्च ब्वाइज दोस्रो टिम बनेको छ । यसअघि उक्त इतिहास मनाङ मर्स्याङ्दीले राखेको थियो ।
२०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको यो टिमले यस सिजन ए डिभिजन लिगको उपाधि जितेको हो । यसपल्ट उसले लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।
मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।
मछिन्द्रले बाँकी दुई खेल जितेमा र चर्च ब्वाइजले लिगको अन्तिम खेलमा जावलाखेल युथसँग पराजित भए पनि उपाधिमा असर गर्ने छैन । किनभने चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि छ ।
चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । १९ फागुनदेखि सुरु भएको लिगमा छैटौं चरणको खेलपछि प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिटको समस्याका कारण राजीनामा दिएका थिए ।
आठौं चरणको खेलदेखि बालगोपाल महर्जनले टिमको प्रशिक्षण सम्हालेका थिए ।
चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारको २९ अंक भएको छ र उ पुछारबाट तेस्रो स्थानमा छ ।

