यी ६ महिला इन्स्पेक्टर जो बन्दैछन् यसैसाता डिएसपी !


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सिफारिस गरेको छ ।

प्रधान कार्यालयको सोमबारको निर्णय बमोजिम रिक्त रहेका डिएसपीमा ४६ जनाको सिफारिस गरिएको हो । ४६ जनामध्ये ४० जना पुरुष अधिकृत सिफारिस भएका छन् भने ६ जना महिला अधिकृतहरु डिएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

एलिजा गिरीः एलिजा गिरी नेपाल प्रहरीकी अब्बल अधिकृतका रुपमा ४६ जनाको बढुवा सूचीमा चौथो नम्बरमा बढुवाका लागि सिफारिस भएकी हुन् । उनी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छिन् । उनले यसअघि राजधानीको कोटेश्वर प्रभागको सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी थिइन् ।

चेतना पोखरेलः चेतना पोखरेल पनि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै कार्यरत छिन् । उनी नेपाल प्रहरीको डिएसपी बढुवा सिफारिसको लिस्टमा छैटौं नम्बरमा परेकी छिन् ।

सुरक्षा केसीः सुरक्षा केसी बढुवा सिफारिस सूचीमा १० औं नम्बरमा परेकी अब्बल अधिकृत हुन् । उनी साईबर ब्यूरो साइबर सुरक्षा योजना तथा खतरा विश्लेषण शाखा भोटाहिटीमा कार्यरत छिन् । उनी यसअघि कपन प्रभागको कमाण्ड लिएकी केसी नेपाल प्रहरीले प्रकाशित गरेको बढुवा सिफारिस सूचीमा अटाएकी छिन् ।

रुपा थापाः बढुवा सूचीको ३० औं नम्बरको बरियतामा रुपा थापा पनि परेकी छिन् । उनी अहिले नेपाल प्रहरी प्रधान कायालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा नक्सालमा कार्यरत छिन् ।

शुभद्रा लामा वाईबाः शुभद्रा अहिले प्रहरी प्रभाव बलम्बुमा कार्यरत छिन् । उनी पनि यस बढुवा सिफारिस सूचीमा ३६ औं नम्बरमा परेकी छिन् । उनी त्यसअघि काेटेश्वर प्रभागमा पनि कार्यरत थिइन् ।

लक्ष्मी खनालः जिल्ला प्रहरी परिसर भक्तपुर शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत इन्स्पेक्टर लक्ष्मी खनाल डिएसपी बढुवा सिफारिसको सूचीमा अटाउन सफल भएकी छिन् । ४६ जना बढुवा सिफारिस सूचीमा रहेका अधिकृतहरुमा अन्तिम स्थानमा बढुवा सिफारिस परे पनि उनी पनि यस लटमा डिएसपी बन्ने छैटौं महिला अधिकृत हुन् । उनी यसअघि साँखु प्रहरी प्रभागमा कार्यरत रहँदा उत्कृष्ठ कार्य गरेबापत पुरस्कृत समेत भएकी थिइन् ।

प्रतिक्रिया