


अमेरिकाको बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडाैं – संयुक्त राज्य अमेरिकामा आइतवार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जना गम्भीर छन् ।
पीडितमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । १ जना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।
गोलीबारीमा घाइते भएका अन्य २ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ ।
पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ ।
सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ ।

