मोरङमा अशक्त किशोरी बलात्कृत,एक जना पक्राउ


विराटनगर – मोरङमा बोल्न नसक्ने (बोली नआउने) अशक्त किशोरी बलात्कृत भएको घटना बाहिरिएको छ। प्रहरीका अनुसार बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएकी हुन्।

बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घटना गत आइतबार राति ९:३० बजेतिरको हो। ‘यात्रुसहितको बस लिएर बाहुनी पुगेपछि बसलाई पार्किङस्थलमा राखी चालक खाना खान होटलतिर गएछन्।

सह-चालक बस्नेतले भने पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइयो,’ उनले भने, ‘घटनाका बारेमा प्रहरीमा भोलिपल्ट मात्रै जानकारी आयो। त्यसलगत्तै बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’

प्रहरीका अनुसार बस्नेतले रातको समयमा अशक्त किशोरीलाई स्थानीय भूराज राईको मकैबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए।

प्रतिक्रिया