

निगमका अध्यक्ष अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली ध्वाजावाहक नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई तीन दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले अबको तीन दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण दिन अधिकारीलाई निर्देशन दिंदै पत्र पठाएको हो ।
प्राधिकरणले लागू गरेको विमानस्थल सेवा शुल्क नियमावली २०७८ लाई कार्यान्वयन नगरेको भन्दै निगम अध्यक्षलाई स्पष्टीकरण साधेको हो ।निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
प्राधिकरणले गत वर्ष नियमावली संशोधन गर्दै भुमस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) वापत संकलन गर्न पाउने संशोधित सेवा शुल्क लागू गर्न पत्राचार गरेको थियो । प्राधिकरणले गत असोज ८ गते पहिलो पटक र गत चैत्र १७ गते २ पटक गरी निगमलाई संशोधित सेवा शुल्क लागू गर्न निर्देशन दिएको थियो ।
तर, निगमले संशोधित सेवा शुल्क र प्राधिकरणको निर्देशक पालना नगरेको भन्दै निगम अध्यक्ष युवराज अधिकारीका नाममा स्पष्टीकरण सोधेको हो । प्राधिकरणले मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगुर्नको कारण निगमसँग सोधेको छ ।
यस्तै, संशोधित ग्राउन्ण्ड ह्याडलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवाहरूलाई आकर्षित गर्न गरिएको प्रयास कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी र विमानस्थलहरूले व्यहोरेको क्षतिको जिम्मेवारी कसले लिने भनेर निगम कार्यकारीलाई प्रश्न सोधेको छ ।
प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्तिलाई निगमका कार्यकारी अध्यक्षबाट किन नहटाउने भनेको छ । निगमले भने सो सम्बन्धमा प्राधिकरणलाई जवाफ पहिला नै पठाएको बताएको छ ।
गौतमबुद्ध विमानस्थलको सम्बन्धमा ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिँदा त्यसको क्षतिपूर्तिका सम्बन्धमा प्राधिकरण जवाफदेही नभएको बताएको छ । ‘एउटा जहाज पनि आउँछ, ग्राउन्ड ह्यान्डलिङ गर्दा लाग्ने खर्च नै उठ्दैन कसरी ५० प्रतिशत छुट दिने,’ निगम स्रोतले भन्यो ।

